16 Oct, 2024, Wed info@dccilam.gov.np (+९७७)-०२७-५२१७७६
/ परिचय

परिचय

अध्यावधिक मिति २०८१ जेठ १ गते मंगलबार

संक्षिप्त परिचय
हिजो पूर्वाञ्चल विकासक्षेत्रको मेची अञ्चलका चार जिल्लामध्येको एक पहाडी जिल्ला इलाम । हाल १ नम्वर प्रदेशका १४ जिल्ला मध्ये पर्दछ । इलामको पुरानो नाम खलङ्गा भएको केही प्राचीन लेखहरूमा उल्लेख छ । इलामको नामाकरणको सम्वन्धमा एतिहासिक, भौगोलिक, प्राकृतिक मानव शास्त्रीय आदि दृष्टिकोणले अध्ययन हुन बाँकी नै छ । तर पनि यसको नामाकरणका सम्वन्धमा निम्न अनुमानहरु लगाउने गरिन्छ ।
इश्वीको १३०० वर्ष अघि पर्सिया (हालको इरान) का इलाम बंशी राजाले दक्षिण पश्चिम पर्सियाका काशी बंशी राजालार्इ बिजय गरी सदाकालागि देश निकाला गरे र तिनीहरु पूर्वतर्फ लागे । तिनै मानिसहरु याहाँ आई बसोबास गरे र आफ्नो जन्मभूमिको सम्मानमा यो ठाउँको नामपनि इलाम राखे ।
इलामको अर्थ लेप्चा भाषामा पुत्का (एक प्रकारको मौरी) को मह हुन्छ, भने लिम्बु भाषामा घुमाउरो बाटो हुन्छ ।
प्राचिन शास्त्रीय मत अनुसार राजा सरियातिले पुत्र प्राप्तिका लाlग हालको माईपोखरीमा पुत्रेष्ठि यज्ञ गरे । उनकी पत्नि छोराको सट्टा छोरी चाहन्थिन र यज्ञ गर्ने ब्राम्हणलाई खुसुक्क छोरी जन्मने यज्ञ गरिदिन आग्रह गरिन । ब्राम्हणहरुले पनि रानीको आग्रह अनुरुप छोरी जन्मने यज्ञ गरिदिए र छोरी (इला) जन्मिन । छोरी जन्मेको देखेर राजा सरियाती इलामा (इला-छोरी र मा चाहिदैन) इलामा भन्न थाले । यही इलामा पछि इलाम भयो भन्ने पनि भनाईछ ।
नेपाल एकिकरण पूर्व दश लिम्वुवानको एक अंग स्वशासित प्रशासनमा रहेको थियो । यसक्षेत्रको सदरमुकाम नागरिगढीमा थियो । सुगौली सन्धिपछी २ वर्ष करफोक (लाप्चा भाषामा ढुकुर बस्नेठाउँ) मा वसेपछि विक्रम सम्वत १८७५ मा सदरमुकाम इलामडाँडामा सारियो । त्यसैले यो एकीरणकै समयदेखिको पुरानो सदरमुकाम कायम रहिरहेको जिल्ला पनि हो । नागरिगढीका पहिलो सुब्बा (प्रशासकीय प्रमुख) जयन्त खत्रीले नै सदरमुकाम करफोक हुदै इलाम डाँडामा सारेका थिए ।
महाभारत र शिवालिक पर्वत शृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलाम वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाँको चियाबारी, हरियाली, सानाठूला नदीनाला, पोखरी, मठमन्दिर, पर्वतीय शिखरहरु (श्री अन्तु, सन्दकपूर, सिध्दिथुम्का आदि) तथा अन्य प्राकृतिक सुन्दरता आदिले पर्यटकलाई आकर्षण गरिरहेका छन् । प्रकृतिको वरदानको रुपमा रहेको यहाँको उर्वर भूमि एवम् पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला कृषि उत्पादनमा अग्रणी मानिन्छ । सांस्कृतिक, र प्राकृतिक पक्षहरूमा समृद्ध यो जिल्ला ‘’पूर्वी पहाडकी रानी”, नगदेबालीको खानी’जस्ता उपनामले चिनिन्छ । इलाम जिल्लालाई विभिन्न ‘अ’ (हाल आठ) ‘अ’ को जिल्ला भनेर चिनिने गरेको छ । ‘अ’ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्यले परिभाषित गरिन्छ । हाल किवि फलको उत्पादन पनि बढिरहेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको चारआलीबाट मेची राजमार्गमा ७८ किलोमिटरको दूरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ । भारतको दार्जिलिङसँग सीमा जोडिएको इलाममा हल्का भिराला पहाड, ससाना थुम्काथुम्कीमा देखिएको हरियाली एवं स्वच्छ हावापानीबाट पर्यटकहरू आकर्षित हुने गर्छन् । मनै लोभ्याउने प्राकृतिक सौन्दर्य नै यहाँको प्रमुख आकर्षण मानिन्छ । सन्दकपुर, छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्काजस्ता रमणीय पहाडहरू यस जिल्लामा रहेका छन् । जहाँ सयौं प्रजातिका चराहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइन्छ । यहाँका ऐतिहासिक बौद्ध गुम्बा, मन्दिर तथा लोपोन्मुख लाप्चा जातिका साथै राई, लिम्बु लगायतका अन्य जातजातिको संस्कृति नै इलामको सांस्कृतिक आकर्षण र पहिचान हो । विभिन्न जातजातिको आवासभूमि इलाम सांस्कृतिक रूपले अनेकतामा एकताको थलोका रूपमा पनि चिनिन्छ । लाप्चा, लिम्बू, राई, तामाङ, गुरूङ, शेर्पा, क्षेत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिस यस जिल्लामा बसोबास गर्छन् । धान नाच, च्याब्रुङ, चण्डी नाच, मारुनी नाच, बालन, सगिँनी, डम्फु नाच आदि यहाँका जातीय सांस्कृतिक परम्परा हुन् ।
व्यापार व्यवसाय
कृषि तथा पशुपालन इलामको मुख्य पेशा भए पनि व्यापारले पनि महत्वपूर्ण स्थान लिएको छ । इलाम बजार, बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँबजार, मङ्गलबारे, देउराली, शुक्रबारे, तीनघरे यहाँका मुख्य व्यापारिक केन्द्र हुन् । इलाम बजार जिल्ला सदरमुकाम हो, जुन राजधानीदेखि करीब ८ सय ५० किलोमिटरको दूरीमा अवस्थित छ । चिया, अलैंची, अदुवा, आलु, अम्रिसो, अकबरे खुर्सानी, स्कुस, दूध किवी आदि यहाँका मुख्य कृषि पैदावर हुन् । इलाममा हाल एक दर्जनभन्दा बढी ठूला चिया प्रशोधन कारखाना रहेका छन् । यसका अतिरिक्त पशुपालन खासगरी गाईपालन पनि इलाममा फस्टाएको पेशा हो ।
इलामका धार्मिक तथा पर्यटकीय स्थलहरू :

श्रीअन्तु


लाप्चा भाषामा अन्तुको अर्थ अग्लो डाडाँ भन्ने हुन्छ । अन्तुडाँडा इलामको एक पर्यटकीय गन्तव्य हो । श्रीअन्तु नामले यसलाई चिनिए पनि बिगतमा समाल्बुङ र श्रीअन्तु गाविसको बीचमा पर्ने यो स्थान हाल सूर्योदय नगरपालकीकामा पर्दछ । यो समुद्री सतहबाट २ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । मेची राजमार्गमा पर्ने फिक्कल बाट १७ कि.मी. र नेपालको एक पूर्वी नाका पशुपतिनगरबाट २२ कि.मि को दुरीमा यो डाँडा रहेको छ । विसं ०४३ मा यसलाई दीपेन्द्र शिखरको नामकरण गरिएको भए पनि यो श्रीअन्तु वा अन्तुडाँडाबाट प्रसिद्ध छ ।

माईबेनी

 माइखोला र जोगमाईको सङ्गमस्थललाई माइबेनी नामले चिनिन्छ । बिगतमा नाम्सालिङ गाविस र इलाम नगरपालिकाको सिमाना स्थान रहेको यो स्थान अहिले इलाम नगरपालिकामा पर्दछ । हरेक वर्ष माघ १, २ र ३ गते त्यहाँ मेला लाग्ने गर्छ । यो यस क्षेत्रकै महत्वपूर्ण तीर्थस्थल हो । माईबेनी इलाम बजारबाट करीब तीन किलोमिटर पूर्व पर्छ यहाँ बडाहाकिमहरु इन्दु शमशेर, रघुवीर बुढाथोकी र टङ्कनाथ बाँस्तोलाको सक्रियतामा निर्मित शिव मन्दिर पनि रहेको छ ।

माईपोखरी


विगतको माईपोखरी र सुलुबुङ गाविसको सिमानामा र हाल सन्दकपूर गाउँपालिकामा पर्ने इलामकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल माईपोखरी हो । माइपोखरी इलाम सदरमुकाम देखि १५ कि.मि. को दुरीमा रहेको प्रर्वतीय सिमसार हो । यो २७0०० ‘०४” उतरी अक्षांस र २७0 ००’ ४३” देखी ८७०५६ ‘१४” पूर्वि देशान्तर सम्म फैलिएको छ । नौओटा कुना भएको पोखरी निकै आकर्षक छ । यो तारा आकृतिको छ । १ दशमलव ८८ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस पोखरीको अर्धव्यास ७ सय ५० मिटर छ । यो क्षेत्र जैविक विविधताका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । यो क्षेत्र हिन्दु, बौध्द तथा किरात धर्मावलम्वीहरुको साँस्कृतिक सगमस्थलको रुपमा पनि रहेको छ । विश्वमै मह्त्वपूर्ण कञ्चनजंघा भू–परिधि क्षेत्रको दीगो संरक्षण गर्न अत्यावश्यक जैविक मार्गको भूमिका निर्वाह गर्ने तथा विभिन्न रैथाने संकटापन्न र दुर्लभ जीबजन्तुहरु रहेको माईपोखरी क्षेत्रको ९० हेक्टर क्षेत्रफल (सन) २८ अक्टोवर २००८ मा विश्व रामसार क्षेत्रमा सूचिकृत भएको छ । यो रामसार क्षेत्र २०८० मिटर देखी २१६४ मिटर उचाइमा अवस्थित छ । यहाको तापक्रम क्रमश: गर्मीमा अधिकतम १८० सेल्सियस र जडोमा न्यूनतम २० सेल्सियसको वीचमा रहने गर्दछ । औषत वार्षिक वर्षा ३००० मी.मी भन्दा वढी हुने गर्दछ । उपोष्ण र समसितोषण हावा पानीको संगमस्थल माइपोखरी कञ्चनजंघा भू–परिधि (Landscape Complex) को मध्य भागमा अवस्थित रहेको छ । अत्यन्त मनमोहक जङ्गलले घेरिएको यो स्थानमा विसं १९५४ मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि रहेको छ । माईपोखरीसँगै जोडिएको छिन्तापु चुचुरोको उचाइ ३ हजार २ सय मिटर छ, जसले महाभारत पर्वत श्रेणी र शिवालिक पर्वतश्रेणीलाई छुट्ट्याउँछ । यस क्षेत्रमा विभिन्न प्रजातिका लालीगुराँस तथा पुतलीहरू पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएको जीव ठकठके (पानीगोहोरो) तथा पोखरीमा पाइने गलैंचे झ्याउ पनि यहाँ देख्न सकिन्छ । माईपोखरीमा कहिलेकाहीँ आउने छाललाई स्थानीय वासीले अनिष्टको सङ्केतका रूपमा लिने गर्छन् ।

छिन्तापु


सन्दकपुर गाउँपालिकामा माई पोखरी संगै जोडिएर रहेको यसको उचाई ३२०० मिटर रहेको छ । यसले महाभारत पर्वत श्रृखला र शिवालिक पर्वत श्रेणीलार्इ छुटयाउएको छ ।

सन्दकपुर


इलाम जिल्लाको उत्तरी भेगमा पर्ने जिल्लाकै उच्च चुचुरो हो । यसको उचाइ समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर रहेको छ । यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासहित कञ्चन जंघा र भूटानसम्मका हिमशृङ्खलाहरू देख्न सकिन्छ । सूर्योदय, सूर्यास्त तथा कञ्चनजङ्घाको मनमोहक दृश्य यहाँबाट देख्न सकिन्छ । विभिन्न रङमा फुल्ने लालीगुराँस फूलका साथै अनेकौं प्रकारका स्थानीय जङ्गली फूलहरूले सन्दकपुरलाई सजाएको छ । यो नेपाल र भारतको सिमाना नजिकमा पर्छ । सन्दकपुर घुम्न नेपाल, भारतसहित तेस्रो मुलुकका पर्यटकहरू आउने गर्छन् । इलाम सदरमुकामबाट माईपोखरी, माईमझुवा हुँदै करीब ३० किलोमिटर सडक पार गरेपछि सन्दकपुर पुगिन्छ । त्यस्तै फिक्कलबजार बाट पनि नयाँबजार हुँदै ४५ कि.मि.को दुरीमा सन्दकपुर पुग्न सकिन्छ । यो सन्दकपूर नै माइखोलाको उद्गम स्थल पनि हो ।

 

सिद्धिथुम्का


समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको सिद्धिथुम्का सदरमुकामबाट पश्चिममा पर्छ । यहाँबाट सूर्योदय, सूर्यास्त तथा चुरे र महाभारत शृङ्खला, तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पुग्न सदरमुकामबाट करिव १७ कि.मि को यात्रा तय गर्नुपर्छ ।

 

माङमालुङ


समुद्री सतहबाट २ हजार मिटरको उचाइमा अवस्थित माङमालुङ धार्मिक महत्व बोकेको स्थल हो । बाँझो र इभाङको बीचमा माङसेवुङ गाउँपालिकामा पर्ने यो स्थान किराँत धर्मावलम्बीहरूको एक पवित्र स्थल पनि हो । यस ठाउँलाई औतारी डाँडो भनेर पनि चिनिन्छ । यहाँ सिंह, सर्प, चिल आदि जीवजन्तुहरूको ढुङ्गाले बनेका मूर्ति तथा विभिन्न चित्र प्रशस्त छन् । मात्रिका किराँतेश्वरको गुफा यहाँको महत्वपूर्ण धार्मिक सम्पदा हो । यो जंगलभित्र शिवपार्वतीको विवाहको अवसरका दृस्य झलकाउने ढुङगाका जीवन्त र प्राकृतिक आकृतिहरु रहेका छन् । बेहुला बनेका शिव र उनको साथी (लोकेन्द्रे) अनी बेहुली वनेकी पार्वती र उनकी साथी (लोकन्द्री) मानिने मूर्तिहरु, शिवपार्वतीले खाना पकाउन वनाएको ढुङगाको चम्का (चुलो) सिहं आकृतिको प्राकृतिक ढुङगाको मूर्ति, शिव पार्वतीको कृडास्थल गुफा लगायतका विचित्र लाग्ने प्राकृतिक दृस्यहरु रहेका छन् । त्यस्तै एउटा विशाल ढुंङगा माथी अर्को विशाल ढुङगा रहेको छ । जसलाई सामान्य बलको प्रयोगबाट लरक्क हल्लाउन सकिन्छ । तर ढलाउन / लडाउन भने सकिदैन । एउटा १ फिट जति गोलाईको प्वाल रहेको छ । त्यहाँबाट जाडो महिनामा तातो वाफ निस्क्न्छ र त्यसमाथी हात राख्न सकिदैन भनिन्छ । यि विषय वैज्ञानिक दष्टिकोणले पनि अध्ययन अनुसन्धान गर्न आवश्यक र उपयूक्त जस्तो लाग्दछ । इलाम सदरमुकामबाट र झापाको दमक तथा पाँचथरको रवि हुँदै पनि माङमालुङ जान सकिन्छ ।

गजुरमुखी


देउमाई खोलाको किनारमा रहेको गजुरमुखी देवीको मन्दिर समुद्री सतहबाट ७ सय मिटरको उचाइमा रहेको छ । यो पनि अर्को धार्मिक महत्व बोकेको स्थल हो । यहाँ कात्तिक पूर्णिमाको दिन ठूलो धार्मिक मेला लाग्छ । गजुरमुखी इलामबाट नेपालटार, मङ्गलवारे बजार हुँदै करीब ४१.५ कि.मि को दूरीमा पुग्न सकिन्छ ।

पाथीभरा

समुद्री सतहबाट १ हजार ८ सय मिटरको उचाइमा अवस्थित पाथीभरा धार्मिक महत्व बोकेको स्थल हो । यो पूर्वी इलामको साविक कोल्बुङ गाविस हाल रोङ गाउँपालिकामा पर्छ । कुटीडाँडा र हाँसपोखरीको चुचुरोमा पर्ने यस ठाउँमा मन्दिर बनाइएको छ । मेची राजमार्गको कुटीडाँडाबाट करीब २० मिनेट सिँढी खुट्किला उक्लेपछि पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्छ । यी देवीलाई ताप्लेजुङकी प्रसिद्ध पाथीभरा देवीकी बहिनीका रूपमा पुजिन्छ । कसैकसैले यिनलाई सानी पाथीभरा देवी पनि भन्छन् । विभिन्न अध्ययनले यहाँ प्याराग्लाइडिङको उच्च सम्भावना रहेको देखाएका छन् ।

नारायणस्थान
यो स्थान इलाम बजारमै छ । यहाँ भगवान् शिव, सन्तोषी माता र नारायणको मन्दिर छ । यो मन्दिर शिक्षाको प्रचार प्रसारका दृष्टिले पनि महत्वपूर्ण रहेको छ । यो मन्दिर भवानीदास राजलवटव्दारा विसं १९२२ मा निर्माण गरिएको हो ।

माईस्थान
इलाम बजारको नजिकै प्रसिद्ध भगवतीको मन्दिर रहेको छ । यस स्थानमा नियमित पूजापाठ हुनुका साथै पुराणहरू पनि लगाउने चलन छ । यो स्थानलाई खलङ्गा खाल्डो र मन्दिर अगाडिको ढुङ्गालाई इलङ्गा ढुङ्गा भनिन्छ । मन्दिर नजिकै गणेश, डङ्किनी र सिंहवाहिनीका ससाना मन्दिर पनि रहेका छन् ।

सेतीदेवी
इलाम नगरपालिकाको साविक वडा नम्बर– ९ हाल वडा नं. ६ को यो मन्दिर पुवाखोलाबाट २ सय मिटर माथिको पहरामा छ । पहराभित्र रहेको विशाल ढुङ्गालाई देवीका रूपमा पूजा गर्ने गरिन्छ ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ भाद्र ६ गते बिहीबार